अफगानिस्तानबाट अमेरिकी फौज फर्काउनु गल्ती हो : पूर्वराष्ट्रपति बुस

काठमाडौँ, ३१ असार । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले अफगानिस्तानबाट अमेरिकी फौज फर्काउनु गल्ती भएको बताएका छन् । अमेरिकी फौजले अफगानिस्तान छाड्दा त्यहाँको अवस्था निकै खराब हुने बुसले बताएका छन् ।
बुधबार जर्मन टेलिभिजन डी.डब्लूले साधेको प्रश्नको जवाफमा बुसले भनेका छन्, ‘अमेरिकी फौजलाई फर्काउनु गल्ती हो । यसको नतिजा खराब हुनेवाला छ । विशेषगरी अफगानी महिला तथा बालिकाहरूमाथि खतरा उत्पन्‍न हुनेछ । उनीहरू निकै डराएको पाएको छु,’ बुसले भने ।

पूर्वराष्ट्रपति बुसकै पालामा सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि सैन्य हमाला गरेको थियो । हम्मेसी अन्य राष्ट्रिपतिले गर्ने निर्णयबारे आफ्नो राय नराख्‍ने बुसको टिप्पणी अर्थपूर्ण रहेको बताइएको छ । फेरि अफगानिस्तानमा तालिवानले पकड बलियो बनाउँदै गएको खबर आइरहेका बेला बुसले आफ्नो मनको कुरा खालेका हुन् ।

अमेरिकी फौज अफगानिस्तानमा नरहेपछि उनीहरूलाई सहयोग गर्ने स्थानीय अनुवादक तथा सहयोगीहरूको सुरक्षा अवस्था के हुने भन्ने विषयमा पनि बुसले चिन्ता व्यक्त गरेका छन् । ‘अमेरिकी तथा नाटो फौजलाई स्थानीय अनुवादक तथा सहयोगीहरूले निकै सहयोग गरेका छन् । जसबारेमा तालिवान जानकार छ । यस्तोमा ती अनुवादक तथा सहयोगीहरूको सुरक्षा कसले गर्ला भन्ने चिन्ता छ,’ बुसले भने ।

अमेरिकी फौजले अफगानिस्तान छाड्ने क्रम जारी छ । अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडनले गत साता अफगानिस्तानमा रहेका सम्पूर्ण अमेरिकी फौजले अगस्टको अन्त्यसम्ममा त्यस मुलुक छाडिसक्ने बताएका थिए । ‘अब नयाँ पुस्ताका अमेरिकी सेना अफगानिस्तान जाने छैनन् । हामी यो युद्धलाई कायम राख्‍ने पक्षमा छैनौँ,’ बाइडनले भनेका थिए ।

अमेरिकी फौज फर्काउने बाइडनको निर्णयलाई कयौँ अमेरिकी रानीतिज्ञले आलोचना गरेका छन् । ‘अफगानी नागरिक खतरामा पर्नेछन् । विशेषगरी महिला तथा बालिकाहरू तालिवानको निशानामा पर्ने सम्भावना निकै छ । त्यहाँ मानवीय संकट आइपर्नेछ । अफगानिस्तानबाट फौज फर्काउदैमा आतंकवादीहरूले हामीमाथि आक्रमण गर्न छाड्नेवाला छैनन्,’ रिपब्लिकन सिनेटर मिच म्याककोनलले भनेका छन् ।

अमेरिकी फौजले अफगानिस्तान छाड्न सुरु गरेदेखि तालिवान आक्रमक बन्दै गएको छ । र, अफगानी सुरक्षा फौजमाथि आक्रमण गरिरहेको छ । विदेशी सञ्चार माध्यमहरुको दाबी अनुसार तालिबानले अफगानिस्तानका करिब दुई सय जिल्लामा कब्जा जमाइसकेको छ । बेलायती सञ्चार माध्यम बीबीसीले करिब ७० प्रतिशत अफगानी भू-भागमाथि तालिबानको नियन्त्रण रहेको दाबी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board