कोटेश्वरमा वामदेव र नारायणकाजीले छुट्टाछुट्टै भेटे माधव नेपाललाई

काठमाडौँ, ३० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए। नेपालले दुबै जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

स्रोतका अनुसार नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको थियो। गौतमसँग भने नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी गरेका थिए।

अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए। तर उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भइसकेको छैन।यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक राखे पनि पटकपटक स्थगित गरिरहेको छ। यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए आफूले सहयोग गर्ने बताएका थिए। पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति