ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ , ३० असार । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहणपछि मंगलबार बेलुकी राखेको पहिलो मन्त्रिपरिषद बैठकले ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

साथै महामारीको समयमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरू गर्ने निर्णय पनि भएको कार्कीको भनाइ छ।

यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरूत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याइने भएको छ।

विशेष सल्लाहकार नियुक्त गरिने

कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।

सल्लाहकारले सरकारको काम कारबाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने मन्त्री कार्कीको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति