माधव नेपाललाई भेटेर फर्किए घनश्याम : सर्वोच्चको फैसलाअघि कुनै सम्झौता नहुने

काठमाडौँ, २७ असार । बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरवार पुगेका नेकपा एमाले वार्ता टोलीका सदस्यहरू ८ घण्टाभन्दा बढी समयदेखि वार्तामै छन् ।

शनिबार साँझ नै सहमतिलाई अन्तिम रुप दिइएको बैठकपछि सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले बताएका थिए । तर, आइतबार विहान ८ बजे संस्थापन पक्षका वार्ता टोली सदस्यहरू सिंहदरवार पुगे पनि माधव नेपाल पक्षधर वार्ता टोली कोटेश्वरमा गएको थियो । वरिष्ठ नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै मस्यौदामा असहमति जनाएका थिए ।नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफूनिकट नेताहरुलाई बताएर पठाए ।

त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको उनीहरूको भनाइ छ ।वार्ता टोली दिनभर अर्थमन्त्रालयमा रहे पनि सहमतिमा हस्ताक्षर हुन नसकेपछि भुसाल अपरान्ह पुनः माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

नेपालसँग छलफल गरेर उनी पुनः वार्तास्थलमा पुगेका छन् ।वरिष्ठ नेता नेपालले आज आफूनिकट केही केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका छन् । सर्वोच्च अदालतको फैसलाअघि कुनै सम्झौता नहुने बताएका नेपालनिकट ती सदस्यले बताए ।उता बालुवाटारमा भने सम्झौतामा हस्ताक्षर भएलगत्तै स्थायी कमिटी बैठक बस्ने भनेर सबै सदस्यलाई खबर गरिएको थियो । बिहान ८ बजे हस्ताक्षर हुने र ११ बजे माधव पक्षसहितको स्थायी कमिटी बैठक बसेर सहमति अनुमोदन गर्ने भनिए पनि साँझसम्म सहमति नभएपछि सदस्यहरु कुरेको कुरै भएका छन् ।

सहमतिमा हस्ताक्षर नभए पनि स्थायी कमिटी बैठक बस्ने तयारी छ । अपरान्ह ४ बजे सारिएको बैठक अहिलेसम्म वार्ता टोलीलाई पर्खेर रोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति