कर्णालीमा प्रदेश सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजना एमाले सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सरकारबाट फिर्ता नआएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको हो ।प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि एमालेको निरन्तर अवरोधले सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन ।

आइतबार पनि बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए । ‘हाम्रो दलको एउटै माग छ, सरकारले जबसम्म आफ्ना गल्ती सच्याउँदैन, तबसम्म सदनको कारवाही अगाडि बढ्न सक्दैन,’ सांसद रोकायले भने । सांसद रोकायले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शाही र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बुढा सरकारबाट नबाहिरिएसम्म संसद चल्न नदिने एमालेको अडान छ । वैशाख ३ गते थापा, शाही र बुढासहित प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

फ्लोरक्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उनीहरुलाई एमालेले सांसद पद र साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर जेठ २७ गते सर्वोच्च अदालतले चार जनाको सांसद पद पुनस्र्थापित गरिदिएको थियो । एमालेको यही आन्तरिक विवादका कारण असारदेखि सदन अवरुद्ध छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board