बिपी प्रतिष्ठानको आन्दोलनमा प्रधानमन्त्री ओलीले चासो नदिएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको आरोप लगाएको छ ।

भ्रष्टाचारलगायत विभिन्न कारणले प्रतिष्ठानको अवस्था खस्किरहेको भन्दै चिकित्सक, कर्मचारी र विद्यार्थीले लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने पदाधिकारीको राजीनामा मागेका छन्।

प्रतिष्ठानमा संवादबाटै छिटो समस्याको समाधान खोज्न कांग्रेसले माग गरेको छ । आज एक विज्ञप्ति गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समस्यालाई गम्भीरतापूर्वक नलिएको कांग्रेसको आरोप छ ।

‘बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ,’ कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जारी गरेको वक्तव्यमा भनिएको छ ।
प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ,’ शर्माले भनेका छन् ।

‘प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन। तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो,’ कांग्रेसको आरोप छ । ‘

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति