कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदै

काठमाडौं, २४ असार । कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

तर कति परिणाममा खोप आउँछ भन्ने अझै एकिन नभएको मन्त्रालयका प्रवक्ता डा। पौडेलले बताए। ‘तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ,’ उनले भने, ‘परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।’ पहिलो खेप ल्याइसकेपछि मात्र नेपाल आएको खोपको मात्रा एकिन हुने उनको भनाइ छ ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार(जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ । यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। पौडेलले ६० लाख जनसंख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको बताए ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ ।

नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंयालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति