एमालेको कार्यदलको बैठक सकियो भएन सहमति : भोलिसम्म टुंगोमा पुग्ने दाबी

काठमाडौं, २३ असार । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं ।’

एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन ब्युँतिएको हो । सोमबारको बैठकमा विगतका राजनीतिक घटनाको बारेमा समीक्षा भएको थियो । मंगलबार पनि बैठक बसेको थियो । बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएको तर, कुनै सहमति हुन सकेको थिएन। जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति