मंगलबार पुनः बस्नेगरी एमाले कार्यदलको बैठक सकियो

काठमाडौं, २१ असार ।  नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक मंगलबार पुनः बस्नेगरी सकिएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

उनका अनुसार पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने भएको छ । ‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयबस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः भोलि बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ बैठकपछि रावलले भने ।

पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीपक्षले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको औपचारिक बैठक बसेको थियो ।

एमालेले हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्मको समय दिएको थियो । वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजका रावलले आइतबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।एक नेताका अनुसार उक्त भेटमा कार्यदललाई सक्रिय बनाएर पार्टीका समस्यामाथि छलफल गरिनुपर्ने भन्ने रावलको प्रस्तावमा ओली सकारात्मक भएपछि औपचारिक बैठक बसेको हो ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति