प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ

काठमाडौँ, ९ असार । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइका लागि निवेदक र विपक्षीले भोलिसम्म इजलासमा बहस नोट बुझाइसक्नुपर्नेछ । बहसका लागि दुवै पक्षलाई पन्ध्र पन्ध्र घण्टा समय छुट्याइएको छ ।

एमिकस क्युरीमा रहेका चार जनाले आधारआधा घण्टामा बहस सक्नुपर्नेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

गएको जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा ३० वटा रिट परेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि मात्रै सुनुवाइ भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board