काठमाडौं, ३ असार । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन ।
तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । एक मन्त्री भन्छन्, ‘सोमबार क्याबिनेटमा छलफल भएको थियो । आज कोभिड–१९ निर्देशक समितिमा पनि हामीले सोधेका थियौं । प्रधानमन्त्रीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिए ।’
यद्यपि नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छ । अर्का एक मन्त्रीले मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताए । बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताए । अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उनले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने जानकारी दिए ।
प्रतिक्रिया