उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताए । यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । नर्भिक अस्पतालमा पुगी उनले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिए । सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गरेका थिए ।

स्वास्थ्यावस्था स्थिरनर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उनको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उनको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताए । हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उनलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो ।

अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । कोभिड–१९ हुँदा उनलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board