अमेरिकामा कोरोनाबाट मृत्युहुनेको संख्या सयभन्दा कम: भारतमा एकै दिन ३ हजार ८१९ जनाको मृत्यु

काठमाडौं, ३१ जेठ। कोरोना भाइरस महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक सयभन्दा तल झरेको छ ।

महामारी नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास सफल हुँदा अमेरिकामा एक दिनमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सयभन्दा कम भएको हो । पछिल्लो २४ घण्टाभित्र कोरोनाका कारण ९८ अमेरिकी नागरिकको मृत्यु भएको छ ।

महामारी उत्कर्षमा पुग्दा अमेरिकामा कोरोनाका कारण एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । तर पछिल्लो समय क्रमस त्यो सङ्ख्या घटेर एक सयभन्दा तल आइपुगेको हो ।

कोरोनाकै कारण अमेरिकामा हालसम्म छ लाख १५ हजार ५७ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अहिलेसम्म विश्वका अरु मुलुकमा कोरोनाका कारण मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो ।

महामारी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको अमेरिकामा दैनिक सङ्क्रमित सङ्ख्या पनि पाँच हजारबाट ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा चार हजार नौ सय दुई जना नयाँ बिरामी थपिए ।

यसअघि एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए । सङ्क्रमण नियन्त्रणमा विभिन्न उपाय अपनाएको अमेरिकाले कोरोनाविरुद्धको खोप प्रयोगलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

अमेरिकामा हालसम्म तीन करोड ४३ लाख २० हजार सात सय ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । विश्वका अन्य मुलुकमा भन्दा हालसम्म अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या धेरै छ ।

सङ्क्रमितमध्ये दुई करोड ८४ लाख ६२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख पाँच हजार पाँच सय ५६ जनाको उपचार भइरहेकोमा चार हजार पाँच सय ३७ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा एकै दिन तीन हजार आठ सय १९ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या अन्य मुलुकमा पछिल्लो २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

नेपालसँग खुला सीमा रहेको भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण तीन लाख ७४ हजार दुई सय २६ जनाको मृत्यु भइसकेको छ । एकै दिन ६७ हजार दुई सय ९० जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएका सङ्क्रमित सङ्ख्या अरु मुलुकमा २४ घण्टाभित्र थपिएका बिरामीको भन्दा धेरै हो । हालसम्म दुई करोड ९५ लाख छ हजार तीन सय २८ जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८१ लाख ४६ हजार तीन सय ७८ जना उपचारपछि निको भएर कोरोनामुक्त बनेका छन् । नौ लाख ८५ हजार सात सय २४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतले कोरोना नियन्त्रणका लागि गरेका विभिन्न प्रयास पनि सफल भइरहेका छन् । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार ४३ सङ्क्रमितको मृत्यु भयो । ब्राजिलमा कोरोनाका कारण २४ घण्टाभित्र मृत्यु भएको सङ्ख्या केही दिनयताकै कम हो ।

ब्राजिलमा हालसम्म चार लाख ८७ हजार चार सय एक जनाको मृत्यु कोरोना सङ्क्रमणपछि भएको छ । एकै दिन ३५ हजार सात सय ६८ जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएको सङ्ख्या पनि निक्कै कम हो । महामारी उत्कर्षमा पुगेका बेला ब्राजिलमा एक दिनमा एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

हालसम्म एक करोड ७४ लाख १२ हजार सात सय ६६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड ५७ लाख ९४ हजार पाँच सय ४८ जना उपचारपछि निको भएका छन् ।

११ लाख ३० हजार आठ सय १७ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेर गएको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा एकै दिन आठ हजार दुई सय ८४ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या यसअघि एक दिनमा मृत्यु भएका सङ्क्रमितको भन्दा कम हो ।

हालसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण ३८ लाख १८ हजार सात सय ९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र दुई लाख ८९ हजार एक सय ९० जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएको सङ्क्रमित सङ्ख्या पनि यसअघिको तुलनामा निक्कै कम हो । विश्वमा हालसम्म १७ करोड ६६ लाख ९६ हजार छ सय पाँच जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये १६ करोड सात लाख २९ हजार एक सय तीन जना उपचार सफल भएपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड २१ लाख ४८ हजार सात सय १२ जनाको उपचार भइरहेकोमा ८५ हजार ८६ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमण क्रमस कम हुँदै गइरहेको छ । दैनिक यसअघि सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।

कोरोनाकै कारण एक दिनमा १४ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर पछिल्लो समय दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसलाई कोरोना नियन्त्रणमा विश्वले सफलता प्राप्त गरिरहेको रूपमा लिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board