कोरोना नियन्त्रणमा सफलता प्राप्त गर्दै भारत : थप १ लाख १ हजारमा संक्रमण

काठमाडौं, २४ जेठ ।  कोरोना भाइरस महामारीका कारण अत्यासलाग्दो अवस्था सिर्जना भएको छिमेकी मुलुक भारतले पछिल्लो समय सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त गरिरहेको छ ।

दैनिक थपिने र मृत्यु हुने सङ्क्रमित सङ्ख्याले यसको पुष्टि भएको छ । दुई साताअघिसम्म कोरोनाबाट अत्यन्तै प्रभावित बनेको भारतमा अहिले क्रमस नयाँ थपिने सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहेको छ । कोरोनाका कारण मृत्यु हुनेको सख्या पनि घटेको छ ।

भारतमा कोरोना सङ्क्रमण उच्च विन्दुमा पुग्दा यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेका थिए । चार हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भइरहेको थियो । एकै दिन ठूलो सङ्ख्यामा सङ्क्रमित थपिँदा उपचार गराउने ठाउँको समेत अभाव भएको थियो ।

अस्पताल र स्वास्थ्य संस्था बिरामीले भरिएका थिए । ठाउँ अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नु परेको थियो । सङ्क्रमितका लागि अक्सिजनको अभाव हुन पुग्यो । मृत्यु भएकाको दाहसंस्कार गर्न घाटको अभाव भयो ।

कोरोना महामारीको जर्जर अवस्थाबाट माथि उठेर भारत अहिले सामान्य अवस्थामा फर्कने प्रयास गरिरहेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा लगायतका विभिन्न उपायको अवलम्बन गरिएको थियो । भारत आफैले पनि कोरोनाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई दिन सफल भयो ।

यद्यपि दोस्रो भेरियन्टमा सङ्क्रमण दर भने उच्च भयो । जसले भारतको अवस्था कहालीलाग्दो बनायो । नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख एक हजार दुई सय ३२ जना नयाँ बिरामी थपिएका छन् ।

नयाँ थपिएको सङ्क्रमित सङ्ख्या दोस्रो भेरियन्ट यताकै कम हो । अघिल्लो दिनसम्म एक लाख १५ हजारभन्दा बढी सङ्क्रमित थपिँदै आएका थिए । भारतमा सङ्क्रमण दर क्रमस ओरालो लाग्दै छ ।

सङ्क्रमित सङ्ख्या दुई करोड ८९ लाख नौ हजार छ सय चार पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ५० हजार सात सय २७ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । १४ लाख नौ हजार छ सय ४८ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन दुई हजार चार सय ४५ जनाको मृत्यु भएको छ । मृत्यु दर पनि क्रमस घट्दै छ । अघिल्लो दिनसम्म दैनिक दुई हजार पाँच सयभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।

हालसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ४९ हजार दुई सय २९ पुगेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board