उपप्रधानमन्त्री महतो विवादमा, योगेश भट्टराईले गरे विरोध

काठमाडौं, २२ जेठ । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो सपथ लिएसँगै विवादमा परेका छन् । देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’

उनले भनेका छन्, ‘यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।’

उपप्रधानमन्त्री महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले विरोध गरेका छन् ।

उनले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहसले संकेत राम्रो नगरेको उल्लेख गरेका छन्।

उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि प्रधानमन्त्रीले बेलैमा लगाम लगाउनुपर्नेमा समेत जोड दिएका छन् । विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

उनले लेखेका छन्–
पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।

संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति