काठमाडौं, २१ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरे।
बाइडेनको घोषणामा नेपालले कति खोप पाउने हो भन्ने कहिँ कतै पनि खुलाइएको छैन। बाइडेनको उक्त घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको लेखे।उनले बाइडेनको यो घोषणालाई राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अर्को सफलताको संज्ञा दिए। उनले यस्तो लेखे

केही दिनअघि अमेरिकास्थित नेपाली राजदूत युवराज खतिवडामार्फत् राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई खोपका लागि अनुरोध गर्दै पत्र पठाएकी थिइन्। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ ढकालले नै अमेरिकाले ५० लाख डोज खोप दिन लागेको बताएपछि मानिसहरूमा चासो बढ्यो। किनकी नेपालमा पछिल्लो समय कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका हजारौं मानिसले दोस्रो डोज पाएका छैन। उनीहरू खोप कहिले आउला भनेर कुरिरहेका छन्।
अमेरिकाले ५० लाख डोज खोप दिन लागेको कुरा राष्ट्रप्रमुखको सचिवालयमा रहेका व्यक्तिबाट सार्वजनिक भएपछि तरंग आउनु स्वभाविक थियो। केही अनलाइन पोर्टलले उनकै स्टाटसलाई आधार मानेर समाचार पनि प्रकाशन गरे।
तर राष्ट्रपतिका विज्ञ ढकालले गरेको ट्वीटमा कुनै आधार थिएन। केहीबेरमा उनले उक्त ट्वीट डिलिट गरिदिए। त्यसपछि उनले लेखे– मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु, यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।
राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे।
शुक्रबार बिहान ट्वीटरमा उनले लेखे

थापामाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही प्रश्न तेर्स्याए, अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छ ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले केहीबेरमा क्षमायाचना पनि नगरी उक्त ट्वीट डिलिट गरिदिए। उनले भूल सुधार गरेनन् बरू अर्को ट्वीट लेखे

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले खोपजस्तो संवेदनशील विषयमा हचुवाका भरमा ट्वीट गरेको भन्दै अहिले आलोचना भइरहेको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने नेपालले कति डोज, कुन खोप, कहिले पाउने भन्ने टुंगो भइनसकेको बताए।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले त ५० लाख डोज खोप आउँछ भन्दै ट्वीट गर्नु भएको छ त ? भन्ने प्रश्नमा उनले भने– उहाँहरूको कुरा उहाँहरूलाई सोध्नुस्।
अमेरिकी राष्ट्रपति बाइडेनले घोषण यस्तो थियो
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ। कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो। उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ। जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ।भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ।अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ। बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ। यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन। उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ।यसरी अमेरिकाले सोझै दिन लागेको खोप भने तत्कालै पठाइहाल्ने तयारी छ। द न्युयोर्क टाइम्सका अनुसार दक्षिण कोरियाले पाउने १० लाख डोज खोप शुक्रबार नै पठाइने छ।
राष्ट्रपति बाइडेनले अघिल्लो महिना कोरोनाविरूद्धको ८ करोड डोज खोप संसारभरिका मुलुकलाई दिने घोषणा गरेका थिए। अहिले अमेरिकाले दिन लागेको फाइजर(बायोएनटेक, मोडेर्ना र जोनसन एन्ड जोनसनको खोप हो। अमेरिकाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप पनि किनेर राखेको छ। तर अमेरिकाकी नियामक निकायले त्यसलाई प्रयोग अनुमति दिइनसकेकाले तत्कालै अमेरिकाले यो खोप अरूलाई दिन्छ कि दिन्न खुलिसकेको छैन।
ह्वाइटहाउसले अब बाँकी ५ करोड ५० लाख खोपमध्ये पनि ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै पठाउनेछ।
नेपालमा यसअघि भारतमा उत्पादित अष्ट्राजेनेकाको खोप लगाइएको थियो। उक्त खोपको पहिलो डोज लगाएका धेरै जनाले दोस्रो डोज पाएका छैनन्। अमेरिकाले तत्काल अष्ट्राजेनेका खोप दिए उनीहरूले दोस्रो डोज लगाउन पाउनेछन्।
प्रतिक्रिया