उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं, १९ जेठ । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए । बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ ।

निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो ।

अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ । भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए । निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए । कोरोनाको महामारी साम्य नभइसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board