आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन

काठमाडौं,१७ जेठ । आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुन लागेको र सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आजको उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको भने तयारी पूरा भएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए । आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्। जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।

जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।

सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board