सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

काठमाडौं, १५ जेठ ।  सरकारले आगामी वर्षमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई महत्त्व दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वदेशी उत्पादनलाई महत्त्व दिनका लागि मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने जानकारी दिए ।
स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यकमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गरिनेछ, अर्थमन्त्री पौडेलले भने ।त्यसले राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्ने मन्त्री पौडेलको विश्वास छ । यो अभियानका लागि व्यावसायिक वातावरण सिर्जना गरी नेपाललाई आकर्षक एवं सुरक्षित लगानी गन्तव्यको रूपमा विकास गर्ने पनि उनले बताए ।

लगानीमैत्री उद्योग प्रशासन, सहुलियतपूर्ण व्यापार, संरक्षणयुक्त कर प्रणाली, असल श्रम सम्बन्ध एवं आधुनिक पूर्वाधार विकास गरी औद्योगिकीकरणको प्रक्रियालाई तीव्र बनाइनेछ, मन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै भने, सिमेन्ट, औषधि, जुत्ता, फलामे डन्डी लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी गरिनेछ । घरेलु, साना तथा मझौला उद्योग संरक्षण गरी स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उत्पादन अभिवृद्धि गरिनेछ । यस्ता उद्योगको उत्पादनलाई बजार प्रवर्द्धन गर्न इन्‍टरनेटको प्रयोग गरी भर्चुअल ट्रेड शो आयोजना गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति