काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिटमा खेद व्यक्त गरेकी छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटर राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेखेकी छन्।

दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्।
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मानबहादुर रावतले आफ्ना दाइको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।
अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो।
उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ।प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए। भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको बताए।
‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको छ,’ श्रेष्ठले भने, ‘पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता हर्कत भए।’ थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको उनको भनाइ छ। ‘केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुपर्यो,’ उनले भने।
उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ। रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका थिए। ‘पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका छन्,’ श्रेष्ठले भने। अस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए।
त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए।आफूहरूलाई आक्रमण गरेको विरोधमा गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरिरहेका थिए। आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।
COMMENTS