कोभिड निको भएर भ्याक्सिन लगाउनेहरु वर्षौं सुरक्षित: अनुसन्धान

कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ र उसले त्यसमाथिबाट भ्याक्सिन पनि लगायो भने त्यस्तो अवस्थामा विकसित रोग प्रतिरोधी क्षमता जीवनभरी नै पनि प्रभावकारी हुनसक्ने दुईवटा नयाँ वैज्ञानिक अनुसन्धानले देखाएको छ। यो अनुसन्धानले मानिसको शरीरमा उत्पन्न हुने यस भाइरस विरुद्धको सुरक्षा केही समयलाई मात्र हो कि भन्ने भय अन्त्य गरिदिएको छ।

अध्ययनले एकपटक कोरोना संक्रमित भइसकेर पर्याप्त ‘इम्युन रेस्पोन्स’ (प्रतिरोधी क्षमता) विकास गरेका र भ्याक्सिन पनि लगाइसकेका मानिसलाई फेरि ‘बुस्टर’ (एकपटक खोप लगाइसकेका मानिसलाई त्यो प्रभाव कायम राख्न फेरि लगाउनुपर्ने सुइ) को आवश्यकता नपर्ने पनि खुलासा गरेको छ। तर, थोरै मात्र प्रतिरोधी क्षमता विकास गरेकामध्ये आक्कल झुक्कल मानिस वा कहिल्यै पनि कोरोना संक्रमित नभइकनै केवल भ्याक्सिन मात्र लगाएका मानिसलाई भने त्यस्तो ‘बुस्टर’ आवश्यक पर्न सक्छ।

यी दुवै अध्ययनका लागि करिब एक वर्ष पहिले कोरोना भाइरसको शिकार भएका मानिसहरुको परीक्षण गरिएको थियो। चाहे संक्रमणबाट होस वा भ्याक्सिनबाट एकपटक मानिसको कोषले भाइरसका बारेमा जुन ‘मेमोरी’ (जानकारी) ग्रहण गरेको हुन्छ, त्यो रक्तकोष उत्पादन गर्ने मासीमै कायम हुन पुग्दछ। त्यसपछि आवश्यकता परेको बेला जहिले पनि त्यसले ‘एन्टीबडी’मार्फत् प्रभाव देखाउन सक्ने सोमबार नेचर जर्नलमा प्रकाशित एउटा अध्ययनको निचोडले उल्लेख गरेको छ।

यसै सम्बन्धी अर्को एउटा अध्ययन बायो आरएक्सआइभी नामको वेब साइटमा पनि प्रकाशित भएको छ। बायोलोजी अनुसन्धानबारेको उक्त वेब साइटमा प्रकाशित अध्ययनले कोषले ग्रहण गर्ने त्यस्तो ‘मेमोरी’को पनि निरन्तर विकास र विस्तार हुने पत्ता लगाएको छ। त्यस्तो विकास र विस्तार पहिलोपटक संक्रमणको कम्तीमा १२ महिनासम्म भइरहने देखिएको छ।

‘सार्स कोभ २ विरुद्धको भ्याक्सिन वा संक्रमणले शरिरमा पार्ने प्रभावबारे यो यस्तो भरपर्दो खोजी सामुन्ने आएको छ जसले शरीरमा विकास भएको रोग प्रतिरोधी क्षमता लामो समयसम्म बाँचिरहन्छ भन्ने देखाएको छ,’ युनिभर्सिटी आफ पेन्सिलभानियाका इम्युनोलोजिस्ट स्कट हेन्सलीले भनेका छन्। उनी यो अध्ययनमा सामेल भने थिएनन्।

हामीलाई वर्षेनी लाग्ने सामान्य रुघाखोकीका मामलालाई दाँज्दै त्यसमा जसरी विकास भएको रोग प्रतिरोधीले काम नगरेर फेरि रुघाखोकी लागेजस्तै अहिलेको कोरोना भाइरसका हकमा पनि प्रतिरोधी क्षमताले लामो समय काम नगर्ला कि भनेर चिन्ता प्रकट गरिरहेका मनहरुलाई यो अध्ययनले थोरै मनोबल बढाएको छ।

‘ती सामान्य रुघाखोकीका भाइरसहरु पनि केहि वर्षको अन्तरालमा उत्परिवर्तित भइरहेका हुन्छन्,’ डा. हेन्सले भन्छन्, ‘त्यसैले हामीलाई फेरि फेरि लाग्ने सामान्य रुघाखोकीका पछाडि रोग प्रतिरोधीले काम नगर्ने भन्दा पनि भाइरसका थुप्रै फरक प्रजाति कारक हुनसक्छ।’

अझ कोही मानिस एकपटक सार्स कोभ टुको भाइरसबाट संक्रमित भएपछि उसको शरिरमा जुन रोग प्रतिरोधी कोष तयार हुन्छ, त्यसलाई अझ प्रबल तुल्याउन भ्याक्सिन पनि लगाइसकेपछि त त्यस्तो प्रतिरोधी क्षमता बोकेको मानिसले भाइरसका थुप्रै प्रजातिलाई परास्त गर्नसक्ने हुन्छ।

‘त्यस्तो मानिसलाई एकपटक भ्याक्सिन लगाइसकेपछि ‘बुस्टर’ पनि नचाहिने हुन्छ,’ न्यूयोर्कस्थित रकफेलर युनिभर्सिटीका इम्युनोलोजिस्ट मिचेल नुसन्सवाइग भन्छन्। कोषहरुमा संग्रहित ‘मेमोरी’ बारे अध्ययन गर्ने टोलीको नेतृत्व मिचेलले नै गरेका थिए।

‘एकपटक संक्रमित भइसकेर त्यसमाथि फेरि भ्याक्सिन पनि लगाएका मानिसहरुमा रोग प्रतिरोधी क्षमता गजबकै हुन्छ र त्यसले शरीरमा गजबकै एन्टी बडीहरुको सेट पनि तयार पारिदिन्छ,’ डा. मिचेल भन्छन्, ‘त्यसरी एन्टीबडीहरु निरन्तर रुपमा विकास भइरहने गर्छ र मलाइ जहाँसम्म विश्वास छ त्यो क्रम लामो समयसम्म चलिरहन्छ।’

यस्तो प्रतिरोधी क्षमता केवल भ्याक्सिन मात्र लगाएका मानिसहरुको हकमा चाहिँ देखा नपर्न पनि सक्छ। प्राकृतिक रुपले नै संक्रमण बेहोरेका मानिस र भ्याक्सिन मात्र लगाएका मानिसमा ‘इम्युन मेमोरी’ले फरक रुपमा काम गर्ने हुनसक्छ।

‘यस्तो अवस्थामा एकपटक कोभिड १९ हुनेगरि संक्रमित नभएका र केवल भ्याक्सिन मात्र लगाएका मानिसका हकमा फेरि ‘बुस्टर’को आवश्यकता पर्न सक्छ,’ डा. मिचेल भन्छन्, ‘यसबारेका प्रामाणिक तथ्यहरु धेरै चाँडो हाम्रा सामुन्ने देखापर्नेवाला छन्।’

भाइरसलाई पहिलोपटक झेल्नेबित्तिकै कोषहरुमा यस्ता ‘मेमोरी’हरु तीव्र गतिले सक्रिय हुने र त्यसले ठूलो मात्रामा ‘एन्टीबडी’हरु तयार पार्ने गर्दछ। संक्रमितै हुनेगरी भाइरसको मात्रा झेलेको मानिस जब सन्चो हुँदै जान्छ त्यसपछि भने थोरै मात्रामा त्यस्ता कोषहरु गएर मासी (बोन म्यारो)मा बसिदिन्छ। त्यसरी मासीमा बसेका कोषहरुले चाहिँ त्यसपछि निरन्तर थोरै थोरै मात्रामा ‘एन्टी बडी’ पठाउने काम गरिरहन्छ।

हाल देखिएको कोरोना भाइरसमा यस्तो ‘मेमोरी’ बोकेका कोषबारे अध्ययन गर्नका लागि सेन्ट लुइसस्थित वासिंगटन विश्वविद्यालयका अध्येता अली एलीबेडी नेतृत्वको टोलीले ७७ जना मानिसको रगतमा परीक्षणै गरेको थियो। ती मानिसमा कोरोना भाइरसको संक्रमण भएपछि तीन महिनाको अन्तरालसम्म परीक्षण भएको थियो।

ती ७७ जना मानिसमध्ये केवल ६ जना मात्र अस्पतालमा भर्ना गर्नुपरेको थियो। बाँकीका हकमा भने कोभिड १९ का सामान्य लक्षण मात्र देखिएको थियो।

यी मानिसहरुमा संक्रमणको चार महिनापछि ‘एन्टीबडी’को मात्रा स्वात्तै घटेको पाइयो। त्यसपछिका केही महिना पनि लगातार घट्ने क्रम रोकिएको थिएन। यो परिणामले अन्य अध्ययनहरुलाई पनि सघाएको देखिन्छ।

केही वैज्ञानिकहरुले यसरी ‘एन्टी बडी’ घट्नुलाई रोग प्रतिरोधी क्षमतामा कमी आउनु हो भनेर पनि अर्थ्याएका छन्। तर, अन्य विज्ञहरुले भने यो त झनै सोचिएको जस्तै परिणाम देखापरेको दाबी गरेका छन्। शरीरले बेहोरेका सबैजसो रोग विरोधी ‘एन्टी बडी’लाई रगतले आफूमा थुपार्दै लैजाने हो भने त्यसको रासै लाग्नेछ। बरु संक्रमणपछि रगतमा ‘एन्टीबडी’को मात्रा तीब्र गतिमा घट्ने नै हो र अर्कोतर्फ कोषमा रहने ‘मेमोरी’ चाहिँ मासीमा गएर आवश्यक परेको बेला फेरि आक्रमणका निम्ति तयार रहन संचित अवस्थामा बसिरहने गर्छ।

डा. एलिबेडीको टिमले संक्रमित भएपछि मोटामोटी सात महिना बिताएका १९ जना मानिसको मासी (बोन म्यारो)को पनि परीक्षण गरेका थिए। तीमध्ये १५ जनाको मासीमा त्यस्तो ‘मेमोरी’ बोकेका कोष भेटिएको थियो। चार जनामा भने भेटिएन जसको अर्थ चाहिँ केही मानिसका कोषले एकदमै कम वा ठ्याम्मै त्यस्तो ‘मेमोरी’ नबोक्ने गरेको तर्फ संकेत गरेको छ।

‘मेरानिम्ति कतिपय मानिस संक्रमित भएता पनि उसको शरीरले अत्यन्त धेरै रोग प्रतिरोधी क्षमता प्रदर्शित गर्दैन भन्ने कुराको यो उदाहरण हो,’ डा. एलिबेडी भन्छन्, ‘तर, एकपटक कोभिड १९ भएर निको भइसकेका मानिसले भने भ्याक्सिन पनि लगाउने हो भने त्यसले फाइदा गर्छ भन्ने तर्कलाई यसले अझ बलियो बनाएको छ।’

अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

डा. एलिबेडीका १९ जनामध्ये ५ जनाले संक्रमित भएको मोटामोटी सात महिनापछि परीक्षणका लागि दिइएको मासी (बोनम्यारो)पछि फेरि त्यसको चार महिनापछि पनि दोहोर्‍याएर दिएका थिए। त्यसरी दोहोर्‍याएर दिएकाहरुमा फेरि पनि त्यस्तो ‘मेमोरी’बोकेको कोष यथावस्थामै रहेको भेटिएको थियो।

परीक्षणका निम्ति मानिसको मासी (बोनम्यारो) जुटाउनु असाध्यै जटिल काम भएकाले यो परिणामलाई महत्वका साथ लिइनुपर्ने जेनिफर गोमरम्यान बताउँछिन्। उनी युनिभर्सिटी अफ टोरन्टोका इम्युनोलोजिस्ट हुन् र यस अध्ययनमा संलग्न थिइनन्।

यसअघि सन् २००७ मै गरिएको एक परीक्षणले मानिसको शरिरमा ‘एन्टी बडी’ दशकौं वा भनौं औसत आयुभरि नै रहने देखाएको थियो जसले कोषहरुमा रहने ‘मेमोरी’ पनि त्यसैगरी बाँचिरहनेतर्फ संकेत गरेको थियो। पछिल्लो अध्ययनले भने त्यसरी कोषहरुमा ‘मेमोरी’ रहिरहने कुराको दुर्लभ प्रमाण पेश गरेको डा. गोमरम्यान बताउँछिन्।

डा. मिचेलको टिमले यस्ता ‘मेमोरी’ बोकेका कोषहरु कसरी समयसँगै परिपक्व हुँदै जान्छन् भन्ने पनि नियालेको थियो। त्यसको निम्ति उक्त टिमले एक वर्षअघि कोभिड १९ संक्रमित भएर निको भएका ६३ जना मानिसको रगत संकलन गरेको थियो। ती मानिसहरुमध्ये बहुसंख्यकमा सामान्य लक्षण मात्र देखिएको थियो जसमध्ये २६ जनाले त मोडेर्ना वा फाइजर कम्पनीले बनाएका भ्याक्सिनको एउटा डोज पनि लिइसकेका थिए।

यस्तो अवस्थामा मानिसको शरिरमा विकास हुने ‘एन्टी बडी’को काम फेरि भाइरसको संक्रमण हुन नदिनु हो। त्यस्तो ‘एन्टी बडी’ छ महिनादेखि एक वर्षसम्म शरीरमा जस्ताको त्यस्तै देखिएपछि बिस्तारै हराउँदै जान थालेको अध्येताहरुले भेटेका थिए।

अर्कोतिर ‘मेमोरी’ बोकेका कोषहरुको भने निरन्तर उत्पत्ति हुँदै गइरहेको देखिन्थ्यो। त्यस्ता कोषहरुले उत्पादन गर्ने ‘एन्टी बडी’ले चाहिँ अझ फराकिलो दायरामा विकास भएका भाइरसका प्रजातीहरुलाई पनि परास्त गर्नसक्ने गुण बोकेको पाइयो।

संक्रमित भएको एक वर्षसम्म पनि भ्याक्सिन नलगाएका मानिसहरुमा भने सबैखाले भाइरससँग लड्ने क्षमता अलिक कम देखिएको थियो।

भ्याक्सिनले ‘एन्टी बडी’को मात्रा विस्तारमा उल्लेखनीय योगदान दिनुका साथसाथै अन्य अध्ययनले देखाएअनुसार यसले शरिरमा ‘एन्टी बडी’लाई निष्क्रिय पार्ने क्षमतालाई पनि तीब्रता दिएको देखिन्छ।

केन्टकी राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद र्‍यान्ड पलले आइतबार मात्रै आफूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउने उल्लेख गरेका थिए। गतवर्ष मार्चमा आफूलाई कोरोना संक्रमण भएको बताउँदै त्यसैका कारण आफूमा रोग प्रतिरोधी शक्तिको विकास भइसकेको उनको तर्क थियो।

उनले भनेको गलत त होइन। तर, त्यसरी विकास भएको प्रतिरोधी शक्तिले उनलाई वर्षौंसम्म सुरक्षित राख्नेछ भन्ने कुराको कुनै ग्यारेन्टी चाहिँ छैन। अझ पछिल्लो समय भाइरसका विभिन्न प्रजातिहरुको विकास भइरहेको स्थितिमा त्यसो भन्न झनै नमिल्ने भएको छ।

यस्तो अवस्थामा डा. मिचेल र उनको समूहले गरेको अध्ययनलाई हेर्ने हो भने एकपटक कोभिड १९ भएर निको भइसकेका मानिसलाई त्यसपछि थप भ्याक्सिन पनि लगाइदिने हो भने त्यसले अहिलेसम्म देखिएका र आउने दिनमा पनि देखिनसक्ने प्रजातिका भाइरसहरुबाट जोगाउन निकै मद्दत गर्ने देखिन्छ।

एकपटक पनि कोभिड १९ नबेहोरेका मानिसमा भने रोग प्रतिरोधी क्षमता बेग्लै देखिने विषयमा भने सबैजसो विज्ञ वैज्ञानिकहरु एकमत देखिन्छन्। शरीरले ब्यहोरेको जीवित भाइरससँग लड्नु र भ्याक्सिनले दिने केवल एउटा मात्र ‘भाइरल प्रोटिन’सँग लड्नुका बीचमा अन्तर त हुन्छ नै।

न्यूयोर्क टाइम्सबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board