कोरोनाबाट सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन

काठमाडौं । संघीय संरचना कार्यान्वयन भएपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ ।

कैलालीका पुराना राजनीतिज्ञ मल्ल लामो समयदेखि निमोनियाबाट पीडित थिए । सँगै उनमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको परिवारलाई उद्दत गरी मल्लका पूर्व स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । चार दशकदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । विसं २०३७/२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका उनी २१ वर्षको उमेरमै २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्वविद्यालयको सभासद भएका थिए ।

उनि २०७४ माघ ३ – २०७६ कात्तिक १७ सम्म सुदुरपश्चिम प्रदेश प्रमुख बनेका थिए । मूलतः राप्रपाबाट राजनीति गरेका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति