संसद सचिवालयको ढोका बन्द, माधव समूहको राजीनामा पुगेन ५ बजेसम्म पनि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेकपा एमाले माधव पक्षका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दावी नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले माधव नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी नगर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उक्त बैठक बस्नुअघि देउवाले मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय सकिएको छ । यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिरहेको छ । सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ ।

बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेका छन् । उता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुर्ने भएका छन् । सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकिएकाले काँग्रेस सभापति देउवाको टोली शीतलनिवास आउन सक्ने भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरु कुरेर बसिरहेका छन् ।

बेलुकासम्म बहुमत जुटाउनको लागि काँग्रेस र मा‌ओ‌वादीका नेताहरु लागिरहेका छन् भने एमाले ‌ओली पक्ष जसपाको एक गुटलाई आफ्नो साथमा लिएर जसरी हुन्छ विपक्षीहरुको संख्या १३६ नपुर्‍याउनेमा लागिपरेको छ । माधव कुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली क्याप्टेन रामेश्वर थापाको घरमा बिहानदेखि नै बैठकमा बसिरहेका छन् भने जसपाका १३ सासंदलाई भक्तपुरको एक रिसोर्टमा राखिएको छ ।काँग्रेसका ६१ र मा‌‌ओवादीका ४९ सभामुख सहित सासंदले जम्मा ११० पुग्छ उनीहरुले १३६ सासंद नपुर्‍याएसम्म नयाँ सरकारको ढोका खुल्दैन । सिंगो जसपा एकैठाउँमा नहुँदा र एमालेका माधव पक्षका सासंदहरुले सामूहिक राजिनामा नगर्दासम्म बहुमतको सरकार बन्नै सक्दैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board