अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं



क्यान्बेरा, ३० बैशाख – अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ ।

सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ ।

अस्ट्रेलियाको औषधि नियामक निकाय (टिजीए) ले मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छैन । हालसम्म अस्ट्राजेनिका र फाइजरका खोपलाई मात्र टिजीएले मान्यता दिएको छ । यी तीनै किसिमका खोप दुई डोज लगाउनु पर्दछ ।

प्रधानमन्त्री स्कट मोरिसनले मोडर्नाका एक करोड डोज खोप यसै वर्षको अक्टोबरदेखि डिसेम्बरभित्र अस्ट्रेलिया आइपुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले अरु डेढ करोड डोज खोप भने भविष्यमा आइपर्ने संकटका बेलामा थप डोजका लागि हो भन्नुभयो ।

“कोरोनाभाइरस तत्कालै हामीबाट बिदा हुने सम्भावना देखिएन । त्यसैले भविष्यलाई पनि हेरेर तयारी गर्नुपर्ने अवस्था छ,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो ।

मोडर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्ने बारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ । अस्ट्रेलियाका विज्ञान तथा औद्योगिक प्रविधि सल्लाहकार समूहका अध्यक्ष ब्रेन्डन मर्फीले मोडर्नासँगको छलफल सकारात्मक भए अर्को वर्षभित्रै अस्ट्रेलियामा मोडर्नाका खोपहरु उत्पादन हुनसक्ने बताउनुभयो ।

अस्ट्राजेनिका खोप भने अस्ट्रेलियामा उत्पादन हुन थालिसकेको छ । मोडर्नाका दुबै खोप तीन साताभित्रै लगाउन सकिने अवस्था छ भने अस्ट्राजेनिकाको दोस्रो डोज तीन महिना कुर्नुपर्ने छ । फाइजरको खोप पनि तीन साताभित्रै लगाउन सकिन्छ ।

मोडर्नाको खोपका कारण अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् ।

अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज खोप लिन सम्झौता गरिसकेको छ । यो खोप ५० वर्षभन्दा कम उमेरका व्यक्तिको रोजाईको खोप हो किनभने यो उमेरभन्दा कम भएका व्यक्तिमा अस्ट्राजेनिका खोप लगाउँदा रगत जम्ने समस्या देखिएको थियो ।

सरकारले अस्ट्राजेनिकाको ३८ लाख डोज खोप आयात गर्ने तथा पाँच करोड डोज अस्ट्रेलियामै उत्पादन गर्ने सम्झौता गरेको छ ।

तर अहिले अस्ट्रेलिया सरकारले ५० वर्षभन्दा मुनिका व्यक्तिलाई मोडर्नाको खोप दिने तयारी गरेको छ ।

अस्ट्रेलियाले नोभाभाक्ससँग पनि पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको र त्यो यसैवर्ष आपूर्ति हुने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताउनुभयो ।

उहाँले अस्ट्रेलियासँग बढी हुने खोप अन्य मुलुकलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको जानकारी दिनुभयो ।

अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो । सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो । तर खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाले कोरोनाभाइरस नियन्त्रणमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको छ । कोभिड–१९ बाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ । यदि पर्याप्त सावधानी नअपनाएको भए अस्ट्रेलियामा ३० हजारभन्दा बढीको ज्यान जाने सरकारको दाबी छ ।(एपी)
––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board