नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने


काठमाडौं, २७ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने र आजको प्रतिनिधिसभा बैठकमा उपस्थित पनि नहुने निर्णय गरेको छ । सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै छन् । खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । नेपाल–खनाल समूहका कति सांसद अनुपस्थित हुन्छन् भन्ने यकिन भैसकेको छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति