विश्वासको मतका विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उनले बताए । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति