कोभिडबाट शंकरापुरका वडाध्यक्षको निधन

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड –१९ का कारण शङ्खरापुर नगरपालिका वडा नं।–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत रहेका थिए ।

नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले राससलाई जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board