राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने


२४ वैशाख :
गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताउनुभयो । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ । 

अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उहाँले बताउनुभयो । यस्तै मलामीहरु खानपिनका लागि बजारमा बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा शव जलाउनका लागि स्याङ्जा, पाल्पा, रुपन्देहीबाट समेत ल्याइने गरिन्छ । 

कोरोना सङ्क्रमण बढेसँगै त्रसित बनेका राम्दीका स्थानीय बासिन्दाले मलामी धेरै आउँदा आफूहरुलाई सङ्क्रमणको जोखिम बढी हुने भएकाले २५ जनाभन्दा बढी मलामी आउनाका साथै मलामी आउनेलाई बजार क्षेत्रमा हिँड्डुल गर्न रोक लगाइएको स्थानीयवासी सुशीला श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति