पण्डित नारायण पोखरेलको स्मरण


काठमाडौँ, २४ वैशाख :
वाचन शिरोमणि पण्डित नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ । पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज यहाँ वेभिनारबाट आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’ का वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा पोखरेलले खेलेको भूमिकाको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षण अध्यक्ष एवम् वाचनप्रवीण दीनबन्धु पोखरेलले अध्यात्म क्षेत्रबाट  पण्डित पोखरेलले मुलुकको विकासका लागि ठूलो भूमिका खेलेको बताउनुभयो । भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । 

विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुनुहुन्छ । उहाँको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

 पण्डित पोखरेलका स्मृतिमा  प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका संरक्षक अध्यक्ष पोखरेलले बताउनुभयो । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति