प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ। तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो। चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए। समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालकसमेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम जान भनें,’ साहले भने, ‘मैले उपचार गर्ने अवस्था थिएन, मेडिकलमा हामीले प्राथमिक उपचार गर्ने मात्र हो।’
बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएका एम्बुलेन्सचालक रामबाबु महतोले भने, ‘अस्पतालले बेड अभाव भन्दै भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्याएँ। त्यहाँ पनि भर्ना भएन। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्याइदिन भनेपछि रामजानकी हस्पिटल लगिदिएँ।’ त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्याइदिन भनेको चालक महतोले बताए।
भर्नाका लागि दुवै निजी अस्पतालले परियारसँग धेरै रकम धरौटी राख्न भनेका थिए। जुन उनका लागि सम्भव थिएन। करिब डेढ घण्टासम्म प्रदेश मुकाम जनकपुरधामका विभिन्न अस्पताल चहार्दा पनि उपचार सम्भव नभएपछि घर फर्केको भोलिपल्ट मंगलबार बिहान उनले प्राण त्यागे।
‘प्रादेशिक अस्पतालमा धेरैबेर हारगुहार गर्दा पनि भर्ना लिइएन। अन्य निजी अस्पतालले पनि भर्ना नलिएपछि बिरामीलाई पुनः फर्काएर बटेश्वरको मेडिकल हलमा ल्याइदिएँ’, चालक महतोले भने। उनका अनुसार रामजानकी अस्पतालमा चिकित्सकले परियारको शरीरमा अक्सिजन मात्रा जाँच गर्दा ४५ मात्र रहेको बताएका थिए।
सास फेर्न नसकेर छटपटाउँदै रात काटेका परियार मंगलबार बिहानै एकजना सहयोगी साथ फेरि आरपी मेडिकलमा पुगे। मेडिकलका स्वास्थ्यकर्मी साह उनलाई हेर्नेबित्तिकै आतिए। उनले तुरुन्तै जनकपुर लगिहाल्न सल्लाह दिए। पैदलै मेडिकल पुगेका परियार पुगेका फर्किन लाग्दा सिँढीमा ढले। ढलेका उनी उठ्न सकेनन्। त्यहीं उनले प्राण त्यागे। स्वास्थ्यकर्मी साहले बिरामी मेडिकलसम्म आइनपुग्दै सिँढीमै ढलेको जानकारी दिए। ‘उनी कहिलेदेखि बिरामी थिए, गाउँको कुनकुन मेडिकलमा उपचार गराए भन्ने पनि थाहा भएन,’ साहले भने, ‘हिजो साँझ मकहाँ आउँदा उनको अवस्था एकदमै नाजुक देखेर मैले एम्बुलेन्स मगाएर जनकपुर प्रादेशिक अस्पताल लगिदिन भनेको थिएँ। आवश्यक उपचार पाएको भए उनको ज्यान जोगिन्थ्यो कि।’
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए पनि परियारको उपचार नपाएर मृत्यु भयो। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रधानमन्त्रीले बताएका थिए। तर व्यवहारमा उल्टो भयो। नेपाली सेनासहितका सुरक्षाकर्मीले परियारको शव व्यवस्थापन गरिदियो। तर उनको मृत्युको कारण खुलाउने प्रयत्न कतैबाट पनि भएन। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले परियारले उपचार नपाएको जानकारी नआएको बताए। गाउँमै उपचारका क्रममा मृत्यु भएको खबर आएपछि नेपाली सेना परिचालन शव व्यवस्थापनि गरिएको बाँस्तोलाले बताए। उनले भने, ‘बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सोमबार राति नै परियारको मृत्यु भएकाले शव व्यवस्थापन गराइदिन भन्नुभयो। मैले नेपाली सेनाको शव व्यवस्थापन टिमलाई व्यवस्थापन गर्न भने।’ उनका अनुसार श्वासप्रस्वासको समस्या भए पनि मृतकमा कोरोना संक्रमण भएनभएको केही खुलेको छैन। मृत्युपछि स्वाब परीक्षण गर्ने सरकारी नीति नभएकाले नगरिएको उनले बताए।
प्रतिक्रिया