बिलगेट्स दम्पत्तीको सम्बन्ध विच्छेद

२१ बैशाख :
विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ ।

संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।

उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो ।

“विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा भनिएको छ ।

यद्यपि उहाँहरू ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने जनाउनुभएको छ । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भउको बताइएको छ ।

फोक्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँकोे सम्पत्ति १२४ अर्ब डलर रहेको छ । उहाँ माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।

उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।

सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उहाँहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध हुनुभएको थियो ।

तीन सन्तानका अविभावक बनिसकेका उहाँहरूको निर्णयलाई अनपेक्षित मानिएको छ ।

उहाँहरूले सञ्चालन गरेको परोपकारी संस्थाले सङ्क्रमक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।
–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board