नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा


काठमाडौँ, २१ वैशाख :
नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ । काठमाडौँसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ । 

जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो ।

यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ । काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो ।(रासस)

बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ । 

–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board