काठमाडौं, २१ बैशाख । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ५५ हजारमा संक्रमण भएको छ ।
दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६६ लाख ७०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ छ ।
यस्तै त्यहाँ एकैदिन ३४ सय ३८ संक्रमितको मृत्यु भएको छ । यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन् । कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ । अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ । यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए ।
COMMENTS