राष्ट्रिय वनबाट ३५ हजार केजी धुपीपात संकलन

२० वैशाख
ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट चालु आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात संकलन भएको छ । जिल्लाभित्रका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु संकलन गरिएको हो ।
हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ । प्रतिकेजी रु दुई का दरले रु ७० हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेण्ट फरेष्टर सीता योगीले बताउनुभयो । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि संकलन हुन नसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताउनुभयो । विगत वर्षमा संकलन भए पनि चालु आवमा संकलन गरेर संरक्षण क्षेत्र भन्दा बाहिर निकासी नभएको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउनुहुन्छ । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताउनुभयो । राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरीद गर्दै आएको मेरिङ्देन गाउँपालिका—५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामी गाउँमा गएर ६० रुपैयाँमा खरीद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छाँै ।” हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हँुदै भारत निकासी हुने व्यापारी शेर्पाले बताउनुभयो । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु १६० का दरले खरीद बिक्री हुने व्यापारी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पु¥याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।” नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताउनुभयो ।(रासस

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति