पोखरेलको पुन: नियुक्ति घोर अलोकतान्त्रिक प्रवृत्ति –सभापति देउवा (पत्रसहित)


काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गदेै उनले भनेका छन् ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’ नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नहुने देउवाले बताएका छन् । देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्य मान्यता विपरीतको ब्यवहार भनेका छन् ।
‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ उनले भनेका छन् ।

केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तु भएको भन्दै देउवाले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका बेला आइतबार उनले अचानक राजीनामा दिएका थिए । त्यसपछि एमालेले आफ्नो एकल बहुमतको सरकार दावी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएको थियो । प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार नै मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसदले आइतबार नै आफ्नो संलग्नता नेकपा माओवादी केन्द्रमा रहेको बताएकी छन् । त्यस्तै आइतबार नै एमालेका एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन् भने सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदले पोखरेलको साथ छाडेर विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति