काठमाडौं, १९ बैशाख । विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यो कोरोनाभाइरस महामारीयताकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो।उक्त अवधिमा २७ जनाको कोभिड–१९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ। परीक्षण गरिएको सङ्ख्या र सङ्क्रमण पुष्टि भएको सङ्ख्यालाई प्रतिशतमा हेर्ने हो भने पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
एन्टीजन र पीसीआर विधिबाट गरी १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि शनिवार ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको थियो। त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६१२ रहेको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७४४ जनामा, ललितपुरमा ५५० जनामा र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।
COMMENTS