कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छः पूनावाला



नयाँ दिल्ली, १९ बैशाख – भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ ।

“कोभिसिल्ड” नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताउनु भएको छ ।

सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट गर्नु भएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ । पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।”

यसैबीच, सेरमले बुधबार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ ।

केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गर्नु भएको थियो ।

भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन् ।(एएनआई)
––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board