विराटनगरमा आजदेखि निषेधाज्ञा, एक साता हिँडडुलमा समेत रोक

विराटनगर १८ वैशाख । मोरङको विराटनगर महानगरपालिकामा आजदेखि एक साता निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर क्षेत्रभरि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए । सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ।
मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।
यसअघि सुनसरी जिल्ला प्रशासनले शुक्रबार राति १२ बजेदेखि नै २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board