त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल नेपाल

काठमाडौ, ११ बैशाख ।  अहिलेसम्मकै ठूलो अन्तरको जितसँगै नेपालले पहिलोपटक घरेलु मैदानमा टि-२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तरगत आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई कुनै मौका नदिइ नेपालले उपाधि आफ्नो पोल्टामा पार्यो ।

उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेश गरेको नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको हो । नेपालले पहिलो ब्याटिङ गर्दै दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स १७।२। ओभरमा ९६ रनमै धराशयी भयो ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २ सय ३८ बनाएको थियो । यो नेपालको अहिलेसम्मकै सर्वाधिक ठूलो टि(२० स्कोर हो । यसअघि नेपालको सर्वाधिक स्कोर भुटानविरुद्ध २०१९ मा बनाएको २३६ रन थियो । प्रतियोगितामा तेस्रोपटक नेपालले २ सय रनको आँकडा पार गरेको हो ।

यसैगरी रनका आधारमा सर्वाधिक ठूलो जित अन्तर पनि नेपालले कायम गरेको छ । यसअघिको सर्वाधिक अन्तरको जित पनि भुटानविरुद्ध १३० रनको जित थियो ।

नेपालको विशाल स्कोर खडा गर्ने क्रममा नेपालका युवा ब्याट्सम्यानहरू कुशल भुर्तेल र कुशल मल्लले अर्धसतक बनाए । युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिए । कप्तान ज्ञानेन्द्र मल्ल र मध्यक्रमका दिपेन्द्रसिंह ऐरीले पनि विष्फोटक ब्याटिङ गरे । ज्ञानेन्द्र १९ बलमा ३३ रन बनाएर आउट भए भने दिपेन्द्र केवल १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।

कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका छन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए । सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसतकको नजिक पुगेसँगै आक्रमक रुप लिएका थिए ।

भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए । उनले २४ बलमा ५० रन बनाएका थिए । नेपालका बलर करण केसीले ३ विकेट लिएपछि नेदरल्यान्ड्स खेलमा फर्किन सकेन । सन्दिप लामिछानेले २ विकेट लिएका छन् । उनले प्रतियोगिताभर सर्वाधिक १३ विकेट लिन सफल भए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board