नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भएसंगै उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाए । यसअघिका तीन खेल नेदरल्याण्डस, मलेसियामा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुक्के ।

नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले। दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिए । उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिए ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । उनले १७ बलमा एक छक्का र पाँचा चौका हाने । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र १३ बलमा ४५ रनको योगदान दिए । सो क्रममा केसीले सात छक्का प्रहार गरे। यस्तै कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुई दुई तथा मुहम्मद वफिकले एक विकेट लिए। अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board