भारतमा एकैदिन २ लाख ९४ हजारमा कोरोना संक्रमण: २ हजार बढीको मृत्यु

काठमाडौँ, ८ बैशाख । भारतमा मंगलबार एकैदिन झन्डै ३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

भारतमा पहिलो लहरमा सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो। संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो। यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ।

मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। कोरोना भाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो। भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ। महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।

यसैबीच मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारी रोक्न लकडाउन अन्तिम अस्त्र भएकाले लकडाउन हुन नदिने अरू उपायहरू अपनाउनु पर्ने बताएका थिए। उनले नागरिकहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति