तनहुँ कालिका मन्दिरको उद्घाटन


तनहुँ, ७ वैशाख :
जिल्लाको व्यास नगरपालिका–४ स्थित शान्ति शहीद पार्कमा रहेको तनहुँ कालिका मन्दिरको आज उद्घाटन गरिएको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण एवं सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय उक्त मन्दिर तनहुँ जिल्लाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । 

तनहुँ कालिकाको मन्दिर गजुरसहितको मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ । दमौली बजार नजिकै रहेको सामुदायिक वनभित्र तनहुँ कालिकाको मन्दिर निर्माण गरिएको छ । उक्त पार्कभित्र चिल्ड्रेन पार्क, दृश्यावलोकन स्तम्भ, बाल उद्यान, सानो चिडिया घर, वनभोजस्थल, शहीदको शालिक निर्माण गरिने योजना रहेको तनहुँ कालिका शहीद शान्ति पार्क संरक्षण समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताउनुभयो । 

मन्दिर निर्माणको लागि सङ्घीय सरकारबाट रु ५० लाख, व्यास नगरपालिकाबाट रु १० लाख, व्यास नगरपालिका–४ बाट रु १० लाख गरी करिब रु ७० लाखको लागतमा मल्लकालीन प्यागोडा शैलीको आर्कषण मन्दिर निर्माण गरिएको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिनुभयो । उक्त मन्दिरमा पूजा अर्चनाको लागि भक्तजनको घुइँचो लाग्न गरेको छ । मन्दिरको दुई वटा छाना तामाको पत्ताले छाउने, पेटीमा ढुङ्गा र इँटा बिछ्याउनेलगायतका कार्य भैरहेको छ । 

व्यास नगरपालिकाले रु १० लाखको लागतमा सुविधा सम्पन्न शौचालय निर्माण गरिदिएको छ । पछिल्लो समय तनहुँ कालिका मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको तनहुँ कालिका शहीद शान्ति पार्क संरक्षण समितिका अध्यक्ष मोतिकुमार श्रेष्ठले बताउनुभयो । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति