माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताए । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे ।

“सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार बहुमतमै छ”, उनले भने । माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा कांग्रेसले सरकार गठन गर्न अग्रसरता लिने उनको भनाइ थियो । सभापति देउवाले संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र सङ्ग्रहणीय भएको पनि बताए ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको जनाउँदै यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको पाठ्यक्रममा स्थान दिनुपर्ने सुझाव दिए ।

लेखक श्रेष्ठको पुस्तकमा आठपहरिया, राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारू, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार तथा संस्कृतिका विषयमा अनुसन्धानमूलक लेख रहेका छन् । पाँच सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति