प्रदेशसभा १ विवाद : सभामुखले बोलाउँदा मुख्यमन्त्री अनुपस्थित, छुट्टै सर्वदलीय बैठक बोलाए

विराटनगर ३० चैत,। प्रदेश १ संसदमा तनाव देखिएको छ । विवाद समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा अनुपस्थित भएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्मा देखिएको समस्या समाधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय छलफल बोलाएका थिए । मुख्यमन्त्रीको सहमतिमा बोलाइएको बैठकमा मुख्यमन्त्री राई नै अनुपस्थित भए । मुख्यमन्त्री उपस्थित नभएपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो ।

प्रतिपक्षी दलहरुले सोमबारको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले सोमबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । ‘हिजो बोलाइएको छलफलमा मुख्यमन्त्री सहभागि नभएपछि हाम्रो असहमति रह्यो, छलफल निष्कर्षमा पुगेन,’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आज मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा सर्वदलीय छलफल बोलाउनु भएको छ ।’

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको छैठौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेका थिए ।
चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका दलहरुले सोमबार बस्ने सातौं बैठक पनि अवरोध गर्ने बताएका छन् ।

गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन सुरु भए पनि बैठक सुचारु रुपमा अघि बढ्न सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board