विश्‍वमै सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ

काठमाडौँ २६ चैत — बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको पछिल्लो सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति बस्ने देखिएको छ ।

बेइजिङमा गत भन्दा यस वर्ष जम्मा ३३ जना अर्बपति थपिएका छन् । योसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । विगत ७ वर्षदेखि अर्बपतिको संख्याको हिसाबले शीर्ष स्थानमा रहेको न्युयोर्कलाई बेइजिङले यस वर्ष उछिनेको हो । न्युयोर्कमा ९९ जना अर्बपति रहेको फोर्ब्सको सूचीमा देखिएको छ ।

कोरोना महामारीका बीच प्रविधि र स्वास्थ्य सामग्री तथा उपकरणको व्यापारले बेइजिङमा अर्बपतिको संख्या थएिको बीबीसीले जनाएको छ । अर्बपतिको संख्या धेरै भए पनि न्युयोर्कमा रहेका अर्बपतिको कुल सम्पत्ति भने बेइजिङका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

बेइजिङका सबैभन्दा धनी व्यक्ति हुन् भिडियो सेयरिङ एप टिकटकका संस्थापक तथा यसको प्यारेन्ट कम्पनी बाइटडान्सका सीईओ चाङ यिमिङ । उनको कुल सम्पत्ति ३५।६ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै न्युयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वमेयर समेत रहेका माइकल ब्लूमबर्गको कुल सम्पत्ति भने ५९ बिलियन अमेरिकी डलर रहेको छ ।

अमेरिकामा जस्तै चीनमा पनि पछिल्लो समय ई–कमर्समा लगानी गर्ने व्यवसायीहरुले राम्रो कमाएका छन् । यस वर्षमात्रै चीनको बेइजिङसहित हङकङ र मकाउमा समेत गरी २ सय १० जना अर्बपति थपिएको फोर्ब्सले जनाएको छ । चीनका अर्बपतिमध्ये आधाले प्रविधि व्यवसाय र उत्पादन क्षेत्रबाट पैसा कमाएका छन् । यसपटक अर्बपतिको सूचीमा ई–सिगरेट उत्पादन गर्ने केट वाङ पनि परेकी छिन् ।

कुल अर्बपतिको संख्याका हिसाबले पनि चीन अमेरिकाको नजिक पुगेको छ । अमेरिकामा अर्बपतिको संख्या ७२४ रहेको छ भने चीनमा ६९८ । यस वर्ष विश्वभर ४९३ जना अर्बपति थपिएका छन् । यो संख्याले हरेक १७ घण्टामा एक जना अर्बपति थपिने गरेको देखिएको छ ।

अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो

फोर्ब्सको सूचीअनुसार यो वर्षको विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस बनेका छन् । उनको कुल सम्पत्ति १८८।५ बिलियन अमेरिकी डलर छ । गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६।९ बिलियन थियो ।

उक्त सूचीमा एलन मस्क दोस्रो स्थानमा छन् । टेस्ला कम्पनीका प्रमुख उनको सम्पत्ति १५१ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी २१ नम्बरमा थिए । त्यतिबेला उनको सम्पत्ति ३५।६ बिलियन थियो । यस्तै, तेस्रो स्थानमा फ्रान्सको फेसन कम्पनीका प्रमुख बनार्ड अर्लन्ट परेका छन् । यो वर्ष उनको सम्पत्ति १५० बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ९४।१ बिलियन अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमै थिए ।

गत वर्ष दोस्रो स्थानमा रहेका बिल गेट्स यो वर्ष चौथो स्थानमा परेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १२४ विलियन अमेरिकी डलर छ । अमेरिकामा माइक्रोसफ्ट कम्पनीका मालिक उनको सम्पत्ति गत वर्ष १०६।५ बिलियन अमेरिकी डलर थियो । यस्तै, फेसबुक कम्पनीका मालिक मार्क जुगरबर्ग यो वर्ष धनीहरूको सूचीमा पाँचौं नम्बरमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ९७ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ८६।५ विलियम अमेरिकी डलर सम्पत्तिसहित चौथो नम्बरमा थिए ।एजेन्सीको सहयोगमा ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board