सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताए । यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board