बालुवाटार बैठकले ओलीलाई दियो थप अधिकार :अध्यक्षले समानुपातिक सांसद राख्न र हटाउन सक्ने


काठमाडौं, ७ चैत । नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो।

बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको छलफलपछि अध्यक्ष ओलीलाई समानुपातिक सांसद राख्ने र हटाउने अधिकार दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

त्यसैगरी बैठकले एमाले संसदीय दलको विधान अनुमोदन गरेको छ। सँगै बैठकले महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ। हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक समितिमा परिणत गरेको हो।

एमालेले २०७८ मंसिर ३ देखि ६ गतेसम्म १० औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको छ। बैठकले पार्टीमा कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी हेरफेर लगायत निर्णयसमेत गरेको छ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। यसरी स्पष्टीकरण सोधिने नेतामा वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन्।

चार नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीको भनाइ छ।

पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी भएनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति