एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज, महाधिवेशन मंसिरमा

काठमाडौं, २८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै महाधिवेशनको मिति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

निर्णयसँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएका छन् । पार्टी प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाई तोकिएको छ । यसअघि नेकपाको दुई समुह हुँदा पनि उनलाई नै प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।एमालेले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसअनुसार बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

यसैबीच, एमालेको महाधिवेशन २०७८ मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति