काठमाडौं । म्यानमारमा सेनाले कूमार्फत् सत्ता हत्याएपछि प्रहरीहरू नै शरण माग्दै भारत पुगेको खुलेको छ ।
म्यानमारले भारतमा पुगेका ८ जना प्रहरीलाई पक्रेर फिर्ता पठाइदिन पत्र पठाएपछि उनीहरू शरण माग्दै आइपुगेको खुलेको हो । म्यानमारसँग सीमा जोडिएको उत्तरपूर्वी भारतीय राज्य मिजोरमको मिजो गाउँमा ११ प्रहरी र अन्य पाँच जना म्यानमारी नागरिकले शरण लिइरहेको द मिजोरम पोष्टले जनाएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर आङ सान सूचीलगायत नेतालाई पक्राउ गरेर शासन हत्याएको थियो । त्यसयता म्यानमारमा दिनदिनैजसो सैनिक शासनविरूद्ध प्रदर्शनहरू भइरहेका छन् । पछिल्लो समय प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको दमन बढेको छ ।
अहिलेसम्म ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । सैनिक शासनको विरोधमा म्यानमारका सरकारी र निजी कम्पनीका कर्मचारीले काम गर्न छोडेका छन् । प्रहरी नै जागिर छोडेर भारतमा शरण माग्न आएको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।
प्रतिक्रिया