वार्ता स्थान र समय गोप्य: सरकार र विप्लव समूहबीच वार्ता आज, विप्लव समूहले राख्यो यस्तो दुई शर्त

काठमाडौं, १९ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। तर वार्ताको समय र स्थान भने गोप्य राखिएको छ ।
वार्तामा बस्नका लागि विप्लव नेकपाले दुईवटा शर्त राखेको छ । आज हुने पहिलो चरणको वार्तामा विप्लव पक्षले पार्टीमाथिको प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताका विषय प्रवेश गराउने भएको छ ।

राजनीतिक मुद्दामा वार्ता अगाडि बढाउनुपूर्व प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताको मुद्दा फिर्तालाई विप्लव पक्षले शर्तकै रूपमा अगाडि सार्ने विप्लवका एक नेताले जानकारी दिए ।यो विषयमा सहमति भए त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने र बाँकी विषयमा थप छलफल हुने बुझिएको छ । हिजो गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी भए पनि विप्लव पक्षले केही शर्त राखेपछि आजका लागि सरेको हो।

वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताले दिएको जानकारीअनुसार आफूहरूले पहिले पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो। तर हिजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको उनले बताए।पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्तामा सरकार सकारात्मक देखिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले माफीसम्बन्धी र मुद्दा फिर्तासम्बन्धी निर्देशिका तयार गरी गृह मन्त्रालयमा पठाएको छ ।मुलुकी फौजदारी संहिता कार्यान्वयनका सन्दर्भमा यी निर्देशिका महत्वपूर्ण भए पनि राजनीतिक मुद्दामा भने अस्पष्ट  छ । वार्ता गर्न विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक हिजो नै उदयपुरबाट काठमाडौं आइसक्नु भएको छ ।सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ। लगत्तै विप्लव नेकपाले पनि वार्ता टोली गठन गरेको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board